अष्ट्रेलियाको डार्विनमा नेपालीहरु दौडमा आकर्षित



अष्ट्रेलिया कात्तिक १७ । १८ अक्टोबर २०२० आइतबार बिहान ८ बजेतिर डार्विनको नाईटक्लिफ स्वीमींगपुल छेउमा हजारौं मान्छेहरुको भीडमा छातीमा NANTर NRNA NT को लोगो अंकित निलो सींगलेट लगाएका करिब २५/२६ जनाको छुट्टै जमात बडो हर्षित हुँदै सामूहिक फोटो खिच्न ब्यस्त देखिन्थे । उनीहरु डार्विनको एक महत्वपूर्ण ईभेन्ट NTCITY2SURFमा सहभागी TEAM NEPAL का धावकहरु थिए र दौड पूरा गरिसकेपछि फेटोग्राफर फिरोज राणाको निर्देशनमा पोज मिलाइरहेका थिए ।

धेरैजसो ठाउँहरुमा कोरोनाको कारण प्राय: सबैजसो कार्यक्रमहरु स्थगित भए पनि डार्विनमा कोरोनाको खासै प्रभाव परेन र केही क्षणको लकडाउनपश्चात् यहॉको सामुदायिक गतिविधि र ईभेण्टहरु भने आवश्यक निर्देशनहरु पालन गर्दै संचालन भइरहेको छ ।

NTCITY2SURF डार्विनमा हरेक वर्ष जुन महिनामा आयोजना हुने गर्दछ तर यस पटक वर्तमान विश्वब्यापी केरोना कहरले गर्दा अक्टुबरमा सर्न गयो । ३ विभिन्न विधामा दौडहरु समावेश गरिने यस प्रतियोगिताको मुख्य आकर्षण भनेको १२ किमि दौड हो जुन डार्विन सहरको Esplanade मा रहेको हिल्टन डबल ट्री होटेलको प्रांगणबाट सुरु भई Nightcliff foreshore मा अवस्थित स्वीमिंग पुलमा टुंगिन्छ। यसबाहेक ४ किमि दौड र बच्चाहरुका लागि १.५ किमि लामो KIDS MARATHON पनि समावेश गरिन्छ ।

साधरणतय यो प्रतियोगितामा भाग लिन अष्ट्रेलियाको अन्य राज्यहरुबाट र बिदेशबाट पनि ठूलो संख्यामा धावकहरु आउने हुनाले हजारौंको संख्यामा सहभागीहरु हुने गर्दछ । यसपटक सीमाना सहजरुपले खुला नभएको र केरोनाको प्रभावले गर्दा १३०० जति मात्र सहभागी हुन पुग्यो ।

नेपालको प्रतिनिधित्व गर्दै यस पटक पनि सधैं झै चन्द्रप्रकाश गुरुङको नेतृत्वमा २६ जना नेपालीहरुले TEAM NEPAL मा आबद्ध भई सहभागिता जनाएका थिए । सहभागीहरुलाई हौसला प्रदान गर्न यहॉका नेपाली संस्थाहरु Nepalese Association of Northern Territory (NANT) र Non-Resident Nepali Association Northern Territory(NRNA NT)ले संयुक्त रुपमा सींगलेट र अरु व्यवस्थापकीय सहयोग गरेको थियो ।

सहभागीमध्ये ११ जनाले १२ किमि र अन्यले ४ किमि दौडे । नेपालीमध्येमा ४ किमितर्फ नवीन भण्डारी प्रथम र बासुदेव दुलाल द्वितीय भए भने १२ किमितर्फ चन्द्रप्रकाश गुरुङ प्रथम र उहॉकै श्रीमती दशमी गुरुङ द्वितीय हुन सफल भए ।

नेपालीहरु यति धेरै संख्यामा City2Surf मा भाग लिएको सम्भवत: यो पहिलो पटक हो भन्छन् टोली प्रमुख चन्द्रप्रकाश गुरुङ र उनी थप्छन् “सुरुमा सन् २०१५ मा पहिलोपटक भाग लिँदा म मात्र एक्लो नेपाली थिएँ, त्यसपछिका वर्षहरुमा १/२ जना थपिँदै गए र गत वर्ष ६/७ जना भयौं र यस पटक भने ऐतिहासिक नै भयो । स्वस्थ र ब्यायमप्रति हाम्रो समुदायको चासो बढेको देख्ता खुसी लाग्छ ।”

NANT अध्यक्ष युवराज पन्त दौडपछि आफ्नो अनुभव यसरी बताउँछन्, “अहिले पहिलोपटक हुनाले ४ किमिमात्र दौडे । अब अनुभव पनि भयो र आत्मबल पनि बढेको छ र अर्को वर्ष १२ किमिमै भाग लिनेछु । साथै TEAM NEPALका लागि मेरो तर्फबाट हुनसक्ने जस्तोसुकै सहयोगका लागि पनि पछि पर्ने छैन ।”

त्यसैगरी NANT social welfare committee का संयोजक बाबुराम भट्टराई र NANT Hall Development Committee का संयोजक परेशराज घिमिरेले एकै स्वरमा आगामी वर्ष हामी २०० जना सहभागी बनाउने संकल्प गरे । यति राम्रो प्रतियोगिताबारे खासै पहिला जानकारी नपाएको र अहिले पहिलोपटक आफै सहभागी भई अनुभव लिन पाएकोमा खुसी ब्यक्त गरे । NANT र NRNA NT दुवै संस्थाका अन्य केही पदाधिकारीहरु पनि सहभागी भएका थिए र सबैको प्रतिकृया उही थियो अर्को पटकबाट अरु साथीहरुलाई लिएर आउने र सहभागीहरु बढाउने।

NTCITY2SURF पछि अर्को सालको लागि तयारी रहन अहिलेबाटै डार्विनका नेपालीहरु पार्करनमा नियमित जान थालेका छन् ।

तस्बिर सौजन्य : फिरोज राणा

प्रतिक्रिया दिनुहोस्