बेलायतमा महिना लामो लकडाउन घोषणा
लन्डन कात्तिक १६ । बेलायतम महिना लामो लकडाउन घोषणा भएको छ । कोरोना भाइरस संक्रमण तीव्र हुँदै गएपछि नियन्त्रण प्रयासस्वरुप यहाँ दोस्रोपटक राष्ट्रव्यापी लकडाउन घोषणा भएको हो ।
प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार साँझ प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा आयोजित एक पत्रकार सम्मेलनमार्फत यही बिहीबार नोभेम्बर ५ देखि लकडाउन लागू हुने घोषणा गरेका हुन् । झण्डै ४ साता लामो लकडाउन डिसेम्बर २ सम्म कायम रहनेछ ।
नयाँ नियम लागू भएपछि मानिसहरु विशेष कारणवश जस्तै शिक्षा, जागिर र खाद्यान्न किनमेलका लागिमात्र बाहिर निस्कन पाउनेछन् ।
ब्रिटिस सरकारले गत २३ मार्चमा पहिलो लकडाउन घोषणा गरेको थियो ।
शनिबार मात्रै बेलायतमा कोभिड-१९ संक्रमित संख्या १० लाख ११ हजार नाघेको छ । विगत एक सातायता बेलायतमा दैनिक सरदर २३ हजार कोरोना संक्रमित थपिएका छन् । शनिबार ३ सय २६ जनाको मृत्यु भएसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४६ हजार ५ सय ५५ पुगेको छ जुन युरोपमै सबैभन्दा बढी हो । बेलायत सरकारका वैज्ञानिक सल्लाहकारहरुले थप कडाइ नगरे डिसेम्बर सुरुतिरै अस्पतालका श्य्याहरु भरिने चेतावनी दिएका थिए ।