फेरिएको दसैं



सुवास न्यौपाने
फलानोलाई त दसैं आएछ, दसैं न तिहार दंग पर्छ नेवार, नेपालीहरुको महान् चाड २०७७ सालको विजया दशमी तपाईं हाम्रो घर आँगनमा आइसकेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीबीच पनि यस पर्वको सामाजिक सांस्कृतिक महत्व यथावत कायम नै छ । विगत र वर्तमानको दसैंलाई तुलना गर्नेहरु ह्वात्तै बढेका छन् । दसैंको यो व्यापक बहस विजयादशमीले हाम्रो जीवनमा पर्ने सर्बोपरी प्रभावको देन पनि हो ।

आर्थिक अनि मानव विकासका सुचकहरुले सकारात्मक अनि सन्तोषजनक साथ नदिए पनि दसकौं देखि हामी नेपाललाई बिकासोन्मुखको दर्जा दिइरहेका छौं । आर्थिक विकास अनि सामाजिक न्यायको नाममा न देशले आफ्नो मौलिकता जोगाउन सक्यो न आधुनिकतालाई अँगाल्न फेरि अधिकांश जनता न्यून मध्यम वर्गका छन् । यिनीहरु न सस्कार बिर्सेर सफलता चुम्न सक्छन् न यथास्थितिमा रमाउन । समाजवाद र साम्यवादका एजेन्डासहितका अनेकन परिवर्तनले व्यवस्था त बदलियो तर विवशता ज्युँकात्युँ छ । यस्तो विपन्न समाजमा आजभन्दा भोलिको चिन्ता ज्यादा हुन्छ न राज्यप्रति भरोसा म भविष्यको सुनिश्चितता । फलत दृश्य अदृश्य रुपमा कमाउनु र जम्मा गर्नु नै प्रधान हुन्छ रहरले या बाध्यताले तसर्थ न पर्व विर्सिन सक्छन् न खुलेर रमाउन ।

परिवर्तन अवश्यवम्भावी छ। यो दुनियामा परिवर्तनबाहेक अरु केही पनि निश्चित छैन। Nothing is certain except the change. तर परिवर्तन निश्चित छ हुन्छ भएरै छोड्छ । हिजोको आज रहदैन आजको भोलि देखिन्न । यो परिवर्तनशिल समयसँगै हरचिज फेरियो, बदलियो, थपियो, घट्यो, परिवर्तन भयो जसै वडा दसैं दसैं या विजयादशमी भयो । दसैंमा दर्शन पाइने पात्र फेरिए या उनीहरुको अवस्था फेरियो ।
हजुरबा मरे हजुरआमा बितिन्, ठूलो हजुरबा मास छर्न गए अन्य कतिको अर्थी उठ्यो । ठूलो मामा गुमुत भई थलिएका छन्, कान्छी माइजु क्रिस्चियन भइन् । साइलो काकाको छोरो समुन्द्रपारिबाट अपाङ्ग भएर फर्कियो, जेठा बा कान सुन्दैनन्, आँखा देख्दैनन् अनि विधवा छोरी पालेर बसेका छन् माइली फुपुको निखारपिखार दुई रोपनी जग्गा रोडले स्वाहा । सँगै खेलेका र हुर्किएका अधिकांश युवा विदेशमा छन् । २०७०/७१ बाट सुरु भएको बसाइँसराइको लहरले पहिलेभन्दा आधा मान्छे मात्रै छन् । पहिले बस्ती बाक्लो थियो । घरैपिच्छे हामीलाई माया गर्ने बुढाबूढी थिए। बाहरुको पुस्ता सबै गाउँमा थिए । हाम्रो छिमलमा प्रत्येक घरमा तीन चार थानभन्दा बढी छोराछोरी हुन्थे ती सँगै घर स्कुल गरिन्थ्यो, खेलिन्थ्यो, खाइन्थ्यो घाँस दाउरा गरिन्थ्यो । बाल्यकालमा घन्टौं लगाएर रातोमाटो बोकिन्थ्यो सिस्नो घारी पन्छाएर कमेरो खोजिन्थ्यो माकुराको जालो फालेर घर लिपिन्थ्यो, आँगनमा लिउन हालिन्थ्यो, च्युरा कुटिन्थ्यो, आरन गइन्थ्यो । दसैं सकिँदासम्म फिर्ता नपाए पनि दमैको घरमा कपडा सिलाउन गइन्थ्यो । नयाँ कपडा पाउन अनसन बसिन्थ्यो । बारिको राम्रो घाँस ठूलो काँक्रो अनि सर्लक्क परेको केरा दसैंको लागि साचिन्थ्यो । बोकोलाई कोचिकोची खुवाइन्थ्यो ।

दसैं बिदाको गृहकार्य त्यसै दिन श्रीगणेश र इतिश्री गरिन्थ्यो । पिङ्मै २४ घन्टा झुन्डिन मन लाग्थ्यो । घरमा ब्यक्तिगत पिङको लागि लडाइँ पर्थ्यो । पिङ्गको निहुँमा झगडा पर्थ्यो । बासको लिङ्गोमा ढाड बजारिन्थ्यो । काम्रो फालाफाल र भनाभन पर्थ्यो । पेटभरी मासु खाइन्थ्यो पैसा कमाइन्थ्यो सम्पूर्ण वडावासी भेला भएर गाउँको प्रबेशदेखि अन्तिम बिन्दुसम्म गोरेटो बाटो मर्मत गर्थे, अचेल बाटो सफा गर्न पालिकाबाट बजेट बिनियोजन हुनु पर्छ त्यसैले गोरेटोहरुको नामोनिसान छैन । मन्दिर पाटीपौवा आदिको सरसफाइ र मर्मत सम्भार हुन्थ्यो एक धुरी एक पाखुरी भनेर सारा सहभागी हुन्थे । अचेल त मन्दिरमै टाँसिएको घरका हस्तिहरु सरिक हुँदैनन् । घरघरबाट बाबियो उठाएर लठारो बनाएर लिङ्गे पिङ्ग हालिन्थ्यो तर अचेल बाबियो दिन प्राण त्याग गर्नुपरेजस्तो सोच्छन् । ठुला मानिस घर बसेर दुधे बालकलाई पिङ्ग हाल्ने काममा पठाउँछन् । अनि मुस्किलले पाँच भाइ जम्मा हुन्छन् तिनीहरुले लठारो बनाउन कि पिङ्ग थापुन् । न गर्ने जाँगर देखाउँछन् न त गर्न खोज्नेलाई साथ दिन्छन् ।

पहिले दसैंमा धेरै रमाइलो हुन्थ्यो भलिबल नाँचगान सांस्कृतिक कार्यक्रम हुन्थ्यो बुढापाकाले आफ्ना अनुभव सुनाउँथे चौतारा भरी बसेर गफ गर्नेको भीड हुन्थ्यो । चौरभरी पिङ खेल्ने हल्लाइदिने र हेर्नेको घुइँचो हुन्थ्यो गाउँका साँघुरा गोरेटो बाटोहरुमा टीका थाप्न आउने जानेको ताँती हुन्थ्यो परदेशीहरु क्यासेट बजाउँदै आउँथे घरमा प्राइभेट पिङ्ग हुन्थ्यो । स्कुल ड्रेस नै भए पनि नयाँ कपडा लाइन्थ्यो । भाइसाथी जम्मा भएर गाउँ डुलिन्थ्यो । गाउँघरका दाजुभाइ, साथी, संगिनी बिहे गरेर माइत आएका दिदीहरु घरघर पुग्थे गफगाफ भलाकुसारी र सुख, दु:ख आदानप्रदान हुन्थ्यो । टीका थाप्न मावल पुगिन्थ्यो । दक्षिणा दोहोराइतेहेराइ गनिन्थ्यो।

तर अचेल वल्लो घर पल्लोसँग बोल्दैन । बलियो निर्धोलाई थिचोमिचो गर्छ । आर्थिक रुपले सबल छु भनेर मान्छे अनुसार व्यवहार हुन्छ । अर्काको उन्नती देखेर आरिस गर्छ । रिसाउँछ । मुरमुरिन्छ । अनर्गल प्रचार गर्छ कुरा काट्छ नभएको मिथ्या कुरा गर्छ । आँखा तर्छ । बाटो छल्छ । नदेखे झैँ गर्छ । ओठ लेब्र्याउँछ । निधार खुम्च्याउँछ । दारा किट्छ मुन्टो बटार्छ खुट्टा तान्छ अनि लात्तीले भकुर्छ। यसर्थ गाउँमा कोही कसैको हितैषी छैन कोही एक कोही न कोही अर्काको दुस्मन छ्न् तसर्थ भेटघाट गफगाफ र खुसियाली छैन । आमा बुवा दिनानुदिन अस्वस्थ हुँदैछन । दौतरी छुटे, कति पराइघर गए त कति पराइ देश त कति घरब्यबहारमा ब्यस्त । आफ्नो पनि रमाउने लाउने खाने उमेर गयो । न साथीसँग मलाई खोज्ने जाँगर छ न म सँग उसलाई । भविस्यको चिन्ता अनि कामको ब्यस्तता । फुलपातीको साझ आयो अनि एकादशीको झिसमिसमा लाग्यो । त्यसैले त अचेल को दसैं दसैं रहेन न केही उल्लास न केही उमङ्ग बस मनाउनको लागि मनाइन्छ तर मनाउँछु भनेर होइन । दसैंमा जे जति रमाइलो गरियो बाल्यकालमै गरियो । अब फेरि त्यस्ता दिन कहाँ पाउनु । फेरि कहाँ आउँछ र बालापनको उमेर । बिजयादशमीको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्