कोरोना संक्रमित मुख्यमन्त्री पौडेल थप उपचारका लागी काठमाडौंमा



काठमाडौं कात्तिक ७ ।

कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौं लगिएको छ।

मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि राजधानी लगिएको छ।मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो। एक दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौंडा अस्पतालका चिकित्सकद्वारा पौडेलको उपचार गरिएको थियो।

नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पौडेल दम्पतीलाई नै काठमाडौं लगिएको पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।

पौडेलको उपचार गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ। एक दिनअघि मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्