नागरिकलाई प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधा सम्पन्‍न बनाउछौं : मेयर शाक्य



काठमाडौं कात्तिक ७ ।

काठमाडौं महानगरपालिकाका प्रमुख मेयर विद्यासुन्दर शाक्यले नागरिकलाई प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधा सम्पन्‍न बनाउन लागिएको बताएका छन् ।

काठमाडौं महानगरपालिका वडा ९ को नयाँ भवन उद्घाटन गर्न आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मेयर शाक्यले महानगरका ३२ वटै वडा कार्यालयलाई सुविधा सम्पन्‍न बनाउन लागिएको बताए ।

जनतासँग प्रत्यक्ष सरोकार राख्‍ने संस्था भएको र पहिलो गुनासो सुन्‍ने निकायसमेत वडा कार्यालय भएकाले महत्त्वका साथ पूर्वाधार निर्माण भइराखेको उनले बताए । मेयर शाक्यले कुनै समस्या भए आफ्नो वडा कार्यालयमा निर्धक्क राख्नसमेत नगरका बासिन्दालाई आग्रह गरेका छन् ।

यस्तै उनले कुनै पनि क्षेत्रमा विकासका कामहरु गर्न बाँकी रहेको वा गर्नुपर्ने भए पनि वडा कार्यालयमार्फत जानकारी गराउनसमेत आग्रह गरे । सबै कामका लागि मेयर नै नचाहिने भएकाले वडाध्यक्षमार्फत आफ्ना समस्याहरु राख्‍न उनको आग्रह थियो ।

महानगरभित्र पूर्वाधार निर्माणका धेरै काम गर्न बाँकी रहेको र ती काममा नगरवासीको सहयोगको अपेक्षासमेत गरे । महानगरका बासिन्दालाई सेवा–सुविधा दिन पनि वडा कार्यालयलाई सुविधा सम्पन्‍न बनाउनुपर्ने उनको भनाइ थियो । त्यसैले पहिलो प्राथमिकतामा सबै वडा कार्यालयको भवनको निर्माणलाई राखिएको पनि मेयर शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्