कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत



सुर्खेत कात्तिक ७ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

आज बिहान ११ बजे बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । बैठकमा १८ सांसदको उपस्थिति थियो। कर्णालीमा नेकपाका सभामुखसहित ३३ सांसद रहेका छन् ।

संसदीय दलले अविस्वासको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेपछि पूर्वमुख्य सचेतक गुलाबजंग शाहले आजको बैठकको औचित्य नभएको प्रतिक्रिया दिए । गत असोज २५ गते पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्वमाओवादी केन्द्र समूहका सांसदहरूले पनि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । २७ गते नेपाल समूहको अविश्वासको प्रस्तावबाट फिर्ता भएको थियो ।

पूर्वमाओवादी केन्द्रका ठम्मरबहादर विष्टले पनि अविश्वासको प्रस्तावबाट आफ्नो मत फिर्ता लिँदै मुख्यमन्त्री शाहीको पक्षमा उभिएका थिए । अविश्वासको प्रस्ताव अस्वीकार भएसँगै प्रदेशमा मन्त्रिमन्डल पुनर्गठनका लागि ढोका खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्