ब्राजिलमा कोरोनाबाट ज्यान जानेको संख्या १ लाख ५५ हजार नाघ्यो
ब्रासिलिया,कात्तिक ७ । ब्राजिलमा कोरोना भाइरसका कारण ज्यान जानेको संख्या एक लाख ५५ हजार नाघेको समाचारमा जनाइएको छ । ब्राजिलस्थित स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ब्राजिलमा कोरोनाको कारण एक लाख ५५ हजार ४०३ जनाको मृत्यु भएको छ ।
ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । अमेरिकामा अहिलेसम्म दुई लाख १२ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ ।
बितेको २४ घन्टामा ब्राजिलमा ५५६ जना विरामीको ज्यान गएको बताइएको छ । केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा उक्त संख्या सबैभन्दा धेरै हो । यहाँ गएको २४ घन्टा यता गरेको परीक्षणका क्रममा कम्तीमा पनि २४ हजार जनामा संक्रमण देखिएको पुष्टि भएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।गत साता मात्र कोरोना संक्रमितको संख्या ५१ लाख नाघेको थियो । दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका ५२ लाख ९८ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।
कोरोना नियन्त्रण गर्न नसकेको भन्दै अहिले ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोको आलोचना हुँदै आएको छ । यसैक्रममा पछिल्लो पटक झन् धेरै संक्रमित भेटिन थालेका छन् । यहाँ पछिल्लो समयमा मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले ब्राजिलमा कोरोनाको दोस्रो चरणको लहर आएको बताएका छन् ।