सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाद्वारा १० लाख रुपैयाँ सहयोग



ललितपुर कात्तिक ६ ।

ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

आर्थिक अभावका कारण चिडियाखानामा रहेका बन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बिहीबार महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चिडियाखानाका आयोजना अधिकृत डा. चिरन्जीबी पोखरेललाई सहयोग बापतको चेक हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर महर्जनले कोभिड संक्रमणका कारण चिडियाखानाको आम्दानीको स्रोत बन्द भएकाले आर्थिक समस्या परेको अवस्थामा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराएको बताए । आगामी दिनमा आवश्यकता अनुसार आर्थिक सहयोग रकम जुटाउन महानगर प्रतिवद्ध रहेको पनि उहाँले बताए । सदर चिडियाखानाका आयोजना अधिकृत डा.पोखरेलले कोभिड संक्रमणको जोखिमका कारण चिडियाखाना बन्द रहँदा आम्दानी ठप्प रहेको बताए ।

चिडियाखानामा वार्षिक १५ करोड रुपैयाँभन्दा बढी खर्च हुने गर्छ भने चिडियाखाना भित्र रहेका वन्यजन्तुको खानपिनका लागि करिब ३ देखि ४ करोड रुपैयाँ खर्च हुने पोखरेलले बताए । चिडियाखानामा १ सय १० प्रजातिका १ हजार ६८ वन्यजन्तु रहेका छन् ।

आर्थिक अभावका कारण चिडियाखानाका कर्मचारीले आधा महिनाको तलब लिएर काम गरिरहेको पनि डा. पोखरेलले बताए । वित्तीय हिसाबले ऋणात्मक अवस्थामा पुगेको चिडियाखाना सरकारको सम्पत्ति हो । विगत २० वर्षदेखि चिडियाखाना आफ्नै आम्दानीबाट सञ्चालन हुँदै आएको छ । अहिले कोभिड १९ का कारण पूर्ण रुपमा बन्द गर्नुपर्दा आम्दानी शुन्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्