खाद्य कम्पनीमा खसीबोका किन्नेको भीड
काठमाडौं,कात्तिक ६ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका किन्ने सर्वसाधारणको भीड लागेपछि कम्पनीले थप एक हजार खसीबोका खरिद गरेको छ । दसैंलाई लक्षित गरेर खाद्य कम्पनीले सोमबारबाट खसीबोका बिक्री गर्न सुरु गरेको थियो । कम्पनीले यसपटक एक हजार खसीबोका मात्र बिक्रीका लागि राखेको थियो । तर, एक हजार खसीबोका तीन दिनमै बिक्री भएपछि कम्पनीले थप एक हजार खसीबोका खरिद गरी बिक्री गर्ने निर्णय गरेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।
उनले कम्पनीमा खसीबोका किन्न आउनेको भीड व्यवस्थापन गर्न गाह्रो परेको बताइन् । कम्पनीले केही समय खसीबोका बिक्री गर्न रोकेर टोक्न प्रणालीबाट खसीबोका बिक्री गरेको सुवेदीले बताइन् । उनले बजार मूल्यभन्दा किलोमै करिब एक सय रुपैयाँ सस्तोमा पाइने भएपछि खाद्य कम्पनीमा सर्वसाधारणको भीड लागेको हुनसक्ने बताइन् । उनले भनिन्, ‘खाद्यले खसीबोका प्रतिकिलो ५ सय ५० रुपैयाँमा बेचिरहेको छ । बजारमा किलोकै ६ सय ५० रुपैयाँसम्ममा बिक्री गरिएको छ । खाद्यका खसीबोका स्वस्थ छन्, सस्तो पनि भएकाले धेरै आकर्षण देखियो ।’
खाद्यले खसीबोका तुलसीपुर र हेटौंडाबाट खरिद गरेर ल्याएको हो । खरिद गर्न जिल्ला प्राथमिक खरिद समिति बनाएको छ । समितिमा प्रमुख जिल्ला अधिकारी, खाद्य, कृषि विकास र किसानसहित सदस्य रहन्छन् । समितिले मूल्य निर्धारण गरेपछि सोही मूल्यमा सरकारले किन्छ । त्यसपछि प्रशासनिक र ढुवानी खर्च जोडी बजार मूल्य हेरेर खसीबोकाको मुल्य निर्धारण गरिन्छ ।
सूचना अधिकारी सुवेदीले भनिन्, ‘कम्पनीमा खसीबोका किन्ने ठूलो भीड भएपछि कम्पनीले मंगलबार साँझ थप एक हजार खसीबोका किन्ने निर्णय गरेको हो ।’ मंगलबार साँझ नै तुलसीपुर र हेटौंडाबाट एक हजार खसीबोका खरिद गरेको छ । उनले भनिन्, ‘सो खसीबोका बिहीबार दिउँसोसम्म काठमाडौं आइपुग्ने अनुमान गरेका छौं । बिहीबार दिउँसो नै खसीबोका काठमाडौं आइपुगेपछि बिक्री गर्नेछौं ।’
सूचना अधिकारी सुवेदीले कम्पनीले दसैंमा खसीबोका र च्यांग्रा बिक्री गर्दै आएको बताइन् । उनका अनुसार यसपालि च्यांग्रा धेरै नै महँगो पर्ने भएपछि खसीबोका मात्र बिक्री गरिएको हो । उनले च्यांग्राको सट्टामा थप एक हजार खसीबोका किन्ने कम्पनीको निर्णय भएको बताइन् । उनले थप खरिद गरेर ल्याइएका एक हजार खसीबोका फुलपातीसम्म बिक्री गरिसक्ने बताइन् ।
यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।