खसीबोका किन्नेको चाप बढेपछि भीड व्यवस्थापन गर्न टोकन प्रणालीको व्यवस्था



काठमाडौं कात्तिक ५ ।

खसीबोका किन्नेको चाप बढेपछि भीड व्यवस्थापन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले टोकन प्रणालीको व्यवस्था गरिएको छ ।

कम्पनीले खरिदकर्ताको चाप बढेपछि बुधवार सुरक्षाकर्मीको मद्दत लिएको थियो । खसीबोका किन्नेबीच खोसाखोसको स्थिति उत्पन्न भएपछि भीड व्यवस्थापन गर्न सुरक्षाकर्मी खटाउनुका साथै बुधवारदेखि टोकन प्रणालीको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कोरोनाले सृजित असहज परिस्थतिकाबीच अनुमान भन्दा बढी खरिदकर्ताको भीड लागेको र त्यसलाई अहिले सहज बनाइएको कम्पनीका बाग्मती प्रदेश प्रमुख पवित्र गौतमले बताए ।

हरेक वर्ष जस्तै यस वर्ष पनि कम्पनीले दशैंलाई लक्षित गरेर सर्वसुलभ मूल्यमा खसीबोका बिक्री गरिरहेको छ । कम्पनीले च्याङ्ग्रा बिक्री गर्न सकेको छैन । निजी क्षेत्रबाट पनि खसीबोका बिक्रीका लागि विभिन्न स्थानमा राखिएको छ ।

तर कम्पनीमार्फत बिक्री गरिने खसीबोकाको तौल अप्राकृतिक तवरले नबढाइने एवं वास्तविक हुने र अर्को बजार मूल्यभन्दा सस्तो भएपछि उपभोक्ताको भिड लागेको हो । अघिल्ला वर्षहरुमा दैनिक सयदेखि डेढ सयसम्म खसीबोका बिक्री गर्ने गरेको कम्पनीले यस वर्ष दैनिक ५ सयदेखि ७ सयसम्म खसीबोका बिक्री गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्