धनगढी असइ हत्या प्रकरण : हत्याका आरोपित ७ जना सार्वजनिक
धनगढी कात्तिक ४ ।
धनगढीमा प्रहरी सहायक निरिक्षक असइ र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले मङ्गलबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन्।
उनीहरूले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको जनाएको छ।
गत शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका विक र प्रहरी जवान बेपत्ता भएका थिए। उनीहरूलाई राति १० बजे सम्पर्क गर्दासमेत फोन नलागेपछि बिहानसम्म प्रतीक्षा गर्दासमेत नआएपछि खोजी गरिएको थियो।
खोजी गर्ने क्रममा प्रहरी सहायक निरीक्षक विकको शव आइतबार बिहान धनगढी उपमहानगरपालिका १० को नेपाल–भारत सीमास्थित मोहना नदीमा भेटिएको थियो।
घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा विक भेटिएकै मोहना नदी क्षेत्रमा मङ्गलबार प्रहरी जवान साउदको शव पनि फेला परेको थियो। प्रहरीका अनुसार बिकको शव भेटिएको स्थानदेखि २०० मिटर तल मोहना नदीमै उनको शव भेटिएको थियो।
उनीहरू सवार बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल भने घटनास्थलदेखि करिब साढे २ किलोमिटर टाढा भेटिएको थियो भने प्रहरी सहायक निरीक्षक विकले बोकेको पेस्तोल मङ्गलबार मोहना नदीमै भेटिएको छ।