जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग माधव नेपालको माग



काठमाडौं कात्तिक ‍४ । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय अविलम्ब फिर्ता गर्न माग गरेका छन् ।

नेता नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै जनताप्रति सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी भएको भन्दै महामारीका बेला जनताको उपचार गर्ने दायित्व सरकारको रहेको स्मरण गराएका छन् । उनले सरकारको निर्णयले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै भनेका छन्, ‘संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरूले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु ।’

सबै संक्रमितको उपचार सरकारले गर्नुपर्नेमा त्यसो नगर्दा जनतामा मारमा परेको नेता नेपालको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सरकारले सबै नागरिकको उपचार नगर्ने निर्णय लिएको जानकारी केही दिन पहिले दिएका थिए । त्यसलगत्तै सरकारले सरकारी अस्पतालहरूलाई कोरोना संक्रमितको उपचारवापतको रकम संक्रमितबाट उठाउन निर्देशन दिएको थियो । सरकारले त्यतिबेला ‘आफ्नो उपचार खर्च आफैं बेहोर्नू’ भनेको थियो । सरकारले त्यस्तो निर्णय लिएपछि सरकारी अस्पतालहरूले संक्रमितबाट उपचारखर्च उठाउन थालिसकेका छन् भने केहीले उठाउने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्