प्यूठानमा बस दुर्घटना हुँदा चालकको मृत्यु, ३ घाइते



प्यूठान कात्तिक ४ । प्यूठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस मंगलबार बिहान माण्डवी गाउँपालिका–२ गोलवाङमा दुर्घटना भएको हो । तीन जना यात्रु सवार रहेको बस मोड्ने क्रममा ब्रेक नलागेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक दाङ बन्जाडेका ४० वर्षीय तारा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले बताए ।

दुर्घटनामा बङ्गलाचुली गाउँपालिका–३ की ३० वर्षीया वसन्ता विक, माण्डवी १ तिराम बस्ने वर्ष ४५ को लक्ष्मी खत्री गम्भीर घाइते भएका छन् भने माण्डवी गाउँपालिका–१ तिरामका ६६ वर्षीय गोकर्ण अधिकारी सामान्य घाइते भएको सूचना अधिकारी ढकालले बताए ।

बस सडकदेखि २०० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्