सुनसरी र चितवनमा गरी थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं कात्तिक ४ । सुनसरी र चितवनमा गरी थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत धरान–३ का ७२ वर्षीय, धरान–१७ का ६८ वर्षीय र इटहरी उपमहानगरका ५६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

उनीहरु तीनै जनाको मृत्यु सोमबारै भए पनि प्रतिष्ठानको कोभिड अस्पतालले म‌ंगलबार बिहान मात्र सार्वजनिक गरेको हो । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार ७२ वर्षीय पुरुषको असोज २९ गते पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको थियो । कोभिड अस्पतालमा बेड अभाव भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । श्वासप्रश्वासमा जटिलता देखिएपछि उनलाई कात्तिक ३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो ।

यसै गरी उच्च रक्तचापको समस्या रहेका धरान–१७ का ६८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट असोज २८ गते पोजिटिभ देखिएको थियो । उनलाई कात्तिक ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

इटहरीका पुरुषलाई कात्तिक १ गते कोरोना पुष्टि भए पनि अस्पतालमा बेड अभावले होम आइसोलेसनमा बसेका थिए । त्यही क्रममा उनलाई श्वासप्रश्वासमा जटिलता देखिएको थियो । कोरोना पुष्टि भएको तीन दिनपछि मात्र उनले कोभिड अस्पतालमा बेड पाएका थिए ।

यसै गरी मंगलबार धरानमा २ सय ८५ जना संक्रमित थपिएका छन् । तीन दिनअघि स्वाब संकलन गरेर प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पठाइएका नमुना परीक्षण गर्दा ती व्यक्तिमा संक्रमण देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।

यस्तै पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ । निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

त्यसैगरी चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ । गत असोज १७ गते सर्पले डसेको शङ्का लागेर अस्पताल भर्ना गरिएकोमा उनको १८ असोजमा कोरोना पोजेटिभ देखिएकोे थियो ।

प्रतिक्रिया दिनुहोस्