कांग्रेस नेताद्वय केसी कोरोनामुक्त, थापा अस्पतालबाट डिस्चार्ज



काठमाडौं, कात्तिक २ । कांग्रेस नेता एवं पूर्वमन्त्रीद्वय अर्जुन नरसिंह केसी कोरोना संक्रमणमुक्त भएका छन् भने सुनीलबहादुर थापा आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आफूहरु कोरोनामुक्त र डिस्चार्ज भएको नेताहरुले सामाजिक सञ्‍जाल र निजी सचिवालयमार्फत जानकारी गराएका हुन् ।

सामाजिक सञ्‍जालमा लेख्दै नेता केसीले भनेका छन्, ‘आश्विन १५ देखिको एकान्त बासपछिको कोरोना परीक्षणमा आज नेगेटिभ रिपोर्ट आएको छ । यसबीच मेरो स्वास्थ्यलाभको कामना गर्दै चिन्ता र शुभेच्छा व्यक्त गर्नुहुने सम्पूर्ण शुभेच्छुक, पारिवारिक,आफन्तजन र देशभरिका प्रिय साथीहरुमा आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु ।’

यस्तै सूर्यबहादुर थापा प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेता थापा ८ दिनको लामो ह्याम्स हस्पिटल बसाइँपछि कोभिड संक्रमणको क्रमिक सुधार भई घरैमा रेष्ट गर्ने गरी आइतबार मालिगाउँ निवास फर्किएका उनको निजी सचिवालयले जनाएको छ । उनले कोरोना संक्रमणको अवस्थामा जानकारी लिन विभिन्न माध्यमबाट सम्पर्क गर्ने आत्मिय परिवार नातेदारहरु, विभिन्न दलका सभापति, नेताहरु चिकित्सक, सञ्चारकर्मी, साथीभाई एवं सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्