सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध छु :मन्त्री गुरुङ



काठमाडौं कात्तिक २ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार र सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।

उनले आइतबार नेपाल पत्रकार महासंघसँगको टोलीसँग भएको भेटमा यस्तो प्रतिबद्धता जनाएका हुन्। ‘सञ्चर क्षेत्रमा देखिएका समस्याको समाधान सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै गरिनेछ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि नेपाल पत्रकार महासंघसहितका सम्बन्धित पक्षले आवश्यक सहयोग पुर्याउने विश्वास लिएको छु।’

महासंघका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङको कार्यकालको पूर्ण सफलताको कामना गर्दै कोरोना भाइरसका कारण पत्रकारहरुले भोग्दै आएका समस्या, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, संघीयता अनुकूल हुने गरी सञ्चार क्षेत्रको पुनर्संरचना गर्न ढिलाइ नगर्न ध्यानाकर्षण गराएका थिए।

जवाफमा मन्त्री गुरुङले प्रेस स्वतन्त्रताको संरक्षण र संवद्र्धन तथा पत्रकारहरुको पेसागत हितका पक्षमा आफू दृढतापूर्वक लागिपर्ने पनि बताएका थिए। मन्त्री गुरुङसँगको भेटमा महासंघका अध्यक्ष आचार्य, उपाध्यक्ष दिलीप थापामगर, महासचिव रमेश विष्ट, सचिवद्वय रामप्रसाद दाहाल, रेमबहादुर विश्वकर्मा र कोषाध्यक्ष राजेश मिश्र सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्