नेपाल प्रहरीमा जागीर खुल्यो, ५ हजार बढीले जागिर पाउने



काठमाडौं, कात्तिक १ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदका लागि ५ हजार २ सय २७ जनाका लागि भर्ना खुल्ला भएको छ । समावेशी प्रावधान अनुसार खुल्ला प्रतियोगिताद्वारा नयाँ भर्ना दरखास्त आव्हान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर, दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।

उक्त भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ । साथै भर्ना सम्बन्धी थप जानकारी आवश्यक परेमा प्रहरी प्रधान कार्यालय भर्ना तथा छनौट महाशाखाको फोन नम्बरमा सम्पर्क राख्न सकिने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्