बलात्कारविरुद्ध कडा कानून ल्याउने तयारी



काठमाडौं असोज ३० ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारविरुद्ध कडा कानून ल्याउने तयारीमा रहेको बताएका छन् ।

६५ औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एसिड आक्रमणकारीविरुद्ध कडा कानुन ल्याइससकिएको र अब बलात्कार अपराधविरुद्ध कडा कानुन बनाउने विषयमा छलफल भइरहेको बताए ।

बलात्कारजस्ता जघन्य अपराधलाई समेत मिलापत्र गराउने कार्यप्रति कडा रुपमा प्रस्तुत हुन समेत प्रधानमन्त्री ओलीले प्रहरीलाई निर्देशन दिए। प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूसहित अन्य पूर्वप्रधानमन्त्रीमाथि लगाएको आरोपमा सत्यता नभएको भन्दै खण्डन गरे ।

केही दिनअघि एक कार्यक्रममा भट्टराईले प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालले बूढीगण्डकी जलविद्युत् आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण आफूसँग रहेको दाबी गरेका थिए ।

गृहमन्त्री रामबहादुर थापाले संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूह सक्रिय हुन थालेको बताएका छन् । यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न प्रहरीलाई सूचना संकलन, विश्लेषण र फिल्ड अप्रेसनमा कतै पनि सम्झौता नगर्न गृहमन्त्री थापाले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले चुनौतीसँग जुध्ने र अन्याय, अपराधलाई निर्मूल पार्ने सामर्थ्य प्रहरीमा भएको बताएका छन् । विगतका त्यही सौर्य गाथाले भरिपूर्ण संगठन, व्यावसायिक निष्ठावान सदस्यहरूको समर्पण भावले नेपाल प्रहरीको गरिमा चुलिएको बताउँदै उनले गरिमालाई जोगाउन प्रहरी कर्मचारीले निःस्वार्थ योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्