धरानमा पनि कोरोनाबाट थप २ जनाको मृत्यु



सुनसरी असोज २९ । कोरोना भाइरस संक्रमणबाट धरानमा पनि थप २ जनाको मृत्यु भएको छ ।

होम आइसोलेशनमा बसेका धरान उपमहानगरपालिका–९ गौतम पथका ५८ वर्षीय व्यक्तिलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । अस्पताल पुर्‍याइएको केही समयमा नै बुधबार राति साढे ११ बजे उनको मृत्यु भएको वडा नं ९ का वडाध्यक्ष रत्न कटवालले जानकारी दिए । उनका अनुसार मृतकलाई बुधबार अपराह्न नै अक्सिजन कमी भएर समस्या भएको थियो । उनलाई यहाँस्थित प्रतिष्ठानमा अपराह्न नै उपचारका लागि लैजाने पहल गरिए पनि अक्सिजन भएको शय्या अभावमा लान सकिएको थिएन ।

शय्या खाली नभएपछि अक्सिजन किनेर घरमै राखिएको थियो । राति झन् गाह्रो भएपछि उनलाई प्रतिष्ठान लगिएको थियो । उनलाई आठदश दिनदेखि ज्वरो आए पनि तीन दिनअघि मात्र रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै प्रतिष्ठानमा उपचाररत तेह्रथुम दाङपा –१ का ४९ वर्षीय एक पुरुषको पनि बुधबार राति मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा अशिष श्रेष्ठले जानकारी दिए । उनलाई यही असोज २५ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । असोज २६ गते कोरोना पोजेटिभ भएपछि उनलाई कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्