कठिन बन्दै भान्सा, तरकारी महँगीयो



काठमाडौं,असोज २९ । खोजेको र रोजेको तरकारी पाउन मुस्किल हुन थालेको छ । कोरोना कहरबीच नै चाडपर्वसमेत सुरु हुँदा उपभोक्ता रोजेको तरकारी नपाउने र पाइहाल्दा पनि अत्यधिक महँगीको मारमा छन् ।

कीर्तिपुर घर बताउने मीना रिजालले मुडेको राम्रो आलु खोज्न धेरै पसल पुगेको तर नपाएपछि साना आलु नै धार्नीको २३० रुपियाँमा किन्न बाध्य भएको बताए । आलु मात्र होइन अरू तरकारी पनि छोइसक्नु छैन । यस्तै भइरहने हो भने दशैँमा समेत सर्वसाधारणको भान्सामा तरकारी पाक्न गाह्रो हुने रिजालले गुनासो गरे । व्यापारी भने अहिले कोरोनाका कारण आलु उत्पादन नै कम भएको र भएका ठाउँमा पनि किसानले महँगो भन्ने गरेकाले महँगिएको दाबी गर्छन् । कालीमाटी फलफूल तथा तरकारी व्यापारिक संस्थाका अध्यक्ष एवं थोक व्यापारी गीताप्रसाद आचार्यले आलुको पकेट क्षेत्र पाँचखालमा यो वर्ष वर्षाले गर्दा उत्पादन ढिला हुने हुँदा यसको मार उपभोक्तामा परेको बताए ।

पाँचखालको आलु उत्पादन भएर बजारमा आउन अझै एक महिना लाग्ने भएकाले आलुको भाउ अझै महँगो हुनसक्ने उनको भनाइ छ । आचार्यका अनुसार हरियो तरकारी पनि गत वर्षभन्दा महँगिएको छ । कालीमाटीमा आउने तरकारी गोलभेँडा, स्थानीय काउली, मूला तराई हुँदै भारतसमेत निर्यात भएको र त्यसले गर्दा तरकारीको मूल्य बढेको उनको भनाइ छ । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा तरकारीको आगमन विगतभन्दा झन्डै आधा कम भएकाले भाउ महँगो भएको हो । समितिका अनुसार गत वर्ष यही बेलामा दैनिक ७५० देखि ८०० टन तरकारी आउने गरेकामा अहिले दैनिक ३४० देखि ४५० टनसम्म तरकारी आएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले मागअनुसार आपूर्ति नभएपछि भाउ बढेको बताए । विशेष गरी आलु, गोलभेँडा, स्थानीय काउली, घिउ सिमी, लौकालगायतका तरकारीको भाउ महँगिएको छ । समितिका अनुसार गत वर्ष यतिबेला प्रतिकेजी ३३ देखि ३५ रुपियाँमा पाइने गोलभेँडा अहिले बढेर ६५ देखि ७५ रुपियाँ थोकमै पुगेको छ । काउली, मूला, घिउ सिमीलगायतका तरकारी पनि गत वर्षभन्दा ३५ देखि ४५ प्रतिशतसम्म बढेको समितिले जनाएको छ । समितिका अनुसार कागती भने गत वर्ष प्रतिकेजी २६५ रुपियाँ रहेकामा यो वर्ष घटेर १५५ रुपियाँ भएको छ । उपभोक्ता अधिकारकर्मी भने तरकारी कम आएरभन्दा पनि व्यापारीले बहाना बनाएर महँगोमा बिक्री गर्ने गरेको दाबी गर्छन् ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले पछिल्लोपटक तरकारीमा भएको मूल्य वृद्धिको मुख्य कारण बिचौलिया, व्यापारीको मनोमानी भएको दाबी गरे ।

यो समाचार गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्