सवारी साधनमा जारी जोर–बिजोर प्रणालीमा थप कडाई, एक हजार बढी चालक कारबाहीमा



काठमाडौं असोज २८ ।

सरकारले गत भदौं २२ गतेदेखि लागू गरेको जोर–विजोर प्रणाली कार्यन्वयन गराउन काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक प्रहरीले जोरविजोर प्रणालीलाई कडाइका साथ लागू गरेको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले ट्राफिक प्रहरीले जोरविजोर प्रणालीलाई कडाइका साथ लागू गरेकोे हो । जोर विजोरको नियम उल्लंघन गर्ने एक हजार भन्दा बढी सवारी साधानका चालकहरुलाई कारबाही गर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक भिमप्रसाद ढकालले बताए ।

उनले जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने, पार्किङ निषेधित क्षत्रेमा पार्किङ गर्ने, भीडभाड गर्ने सार्वजनिक सवारी साधनहरुलाई पनि कारबाही गरिएको बताए ।

काठमाडौं उपत्यकामा चल्ने साना सवारी साधनहरु बढी कारबाहीमा परेको ढकालले बताए । सरकारले जोरविजोर प्रणाली अन्त्यको घोषणा नगरेसम्म जोर गते जोर नम्बर प्लेटका सवारी साधान र विजोर गते विजोर नम्बर प्लेटका सवारी साधन मात्र सञ्चालन गर्न पाइने जनाइएको छ ।

उनले चाडपर्वलाई लक्षित गर्दै दैनिक ८ वटा सिभिल प्रहरीको टोली सडकमा खटाइएको पनि जानकारी दिए । यस वर्षको चाडपर्वमा जो जहाँ छौं त्यही बसेर चाडपर्व मनाउन सरकारले अपिल गरेपनि चाडपर्व नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्न थालेको ढकालले बताए ।

उनले अबका दिनमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या अझै बढ्न सक्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्