अर्को हप्तादेखि नुवाकोटमै पीसीआर परीक्षण
नुवाकोट असोज २८ । जिल्ला अस्पताल नुवाकोटमा अर्को हप्तादेखि पीसीआर परीक्षण हुने भएको छ ।
पीसीआर ल्याब स्थापना, किट र जनशक्ति व्यवस्थापन भइसकेकोले आगामी हप्तादेखि परीक्षण सुरु हुने प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए । ‘त्रिशूली अस्पतालबाट प्राप्त जानकारी ल्यावमा केही व्यक्तिहरुको स्वाब संकलन तथा परीक्षण गराई प्राप्त नतिजालाई प्रादेशिक ल्याब धुलिखेलमा पठाइने तयारी भइसकेको छ । यो ल्याव र प्रादेशिक अस्पतालको परीक्षण नतिजा मिल्नासाथ आगामी हप्तादेखि नै परीक्षण कार्य सुरु गर्न सकिने छ’, प्रजिअ ढकालले बुधबार फेसबुकमा लेखेका छन् ।
प्रजिअ ढकालले त्रिशूली अस्पतालमा PCR ल्याब स्थापना तथा सञ्चालन हुन लागेकाले यसलाई कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि महत्वपूर्ण कार्य भएको उल्लेख गरेका छन् ।
प्रजिअ ढकालले विदुर नगरपालिकाबाट मेसिन खरिद गरी त्रिशूली अस्पतालमा पीसीआर ल्याब स्थापना गरिसकेको र ल्याब सञ्चालनमा ल्याउन जनशक्ति व्यवस्था भइसकेको बताए । त्यस्तै तत्कालै पीसीआर परीक्षणका लागि अति आवश्यक पर्ने Reagent kitsहरु व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयबाट विशेष पहल लिइएकोमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ हजार ५०० थान किटहरु प्राप्त भएको छ । थप १ हजार ५०० किट आगामी हप्ता प्राप्त हुने बताइएको छ । त्यस्तै थप ४ हजार किटहरुका लागि सम्बद्ध निकायहरुहरुसँग समन्वय भइरहेको प्रजिअ ढकालले बताए ।
पीसीआर परीक्षणको लागि अन्यत्र स्थानमा पठाउनु पर्दा समयमै रिपोर्ट प्राप्त नहुनुका साथै पर्याप्त परीक्षण गर्न नसकिएको अवस्थामा जिल्ला संकट व्यवस्थापन केन्द्र नुवाकोटको २०७७ साउन २२ गतेको बैठकले जिल्लास्थित त्रिशूली अस्पतालमा पीसीआर ल्याब स्थापना तथा सञ्चालन गर्ने, हाललाई विदुर नगरपालिकाले पीसीआर परीक्षण उपकरण खरिद गर्ने र उपकरण खरिद गर्न लाग्ने रकम स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट उपलब्ध गराउन नुवाकोट क्षेत्र नं. २ का प्रतिनिधिसभाका सदस्यलाई अनुरोध गर्ने निर्णय निर्णय भएको प्रजिअ ढकालले स्मरण गराएका छन् ।