कोरोना संक्रमण धेरै हुने देशको सुचिमा नेपाल ३९ औं स्थानमा
काठमाडौं असोज २७ ।
अत्यधिक कोरोना संक्रमित हुने देशहरुको सूचिमा नेपाल ३९औं स्थानमा पुगेको छ ।
वर्ल्डोमिटरका अनुसार हालसम्म संसारका २१६ देशहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्वका १७७ देशहरुलाई पछि पारिरहेको नेपालमा पछिल्लो समय कोरोना संक्रमण तीव्र बनिरहेको छ ।
नेपालले पछिल्ला केही दिनहरुमा चीन, जापान, पोर्चुगल, कोस्टारिका, ग्वाटेमाला, स्वीडेन, इजिप्ट, ओमन, युएई, कजाकिस्तान लगायतका देशहरुलाई पछि पारिसकेको छ ।
नेपालमा १ लाख ११ हजार ८९३ जना संक्रमित भएको वर्ल्डोमिटरले जनाएको छ । हालसम्म कोरोनाका कारण सङ्क्रमित भएका मध्ये ७७ हजार २७७ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४ सय ७३ जना सङ्क्रमणमुक्त भएका छन् यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको र यो संगै नेपालमा कोरोना हुनेको सङ्ख्या १ लाख ११ हजार ८ सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
बितेको २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये २ हजार २८३ जन काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १ हजार ८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना छन् । यससँगै कुल सङ्क्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । हाल देशभर ३३ हजार ८८० सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित मध्ये ६४५ जनाको मृत्यु भएको छ ।