आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं असोज २७ ।
विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मंगलवार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्ष अक्टोबर महिनाको १३ तारिखका दिन विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गरिन्छ । विपद् जोखिम न्यूनीकरणमैत्री सुशासन सुरक्षित भविष्यका लागि हाम्रो अभियान नाराका साथ नेपालमा विपद् जोखिम न्यूनीकरणका कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान सवा १० बजे भर्चुअल रुपमा उद्घाटन तथा सम्बोधन गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सन् १९८९ को राष्ट्रसंघ साधारणसभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्वतयारी र जागरणको अभिवृद्धिका लागि दिवसको सुरुवात गरेको थियो ।
नेपालमा यो वर्ष ६ महिनाको अवधिमा बाढी, पहिरो तथा चट्याङबाट मात्रै तीन सयभन्दा धेरैले ज्यान गुमाएका छन् । बाढी र पहिरोमा ७० जनाभन्दा धेरै हराइरहेका प्राधिकरणको तथ्याङ्क छ । २०७२ सालको भूकम्पमा झण्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए । त्यस्तै ८ लाखभन्दा धेरै घर तथा संरचना, विद्यालय भवन, सम्पदामा क्षति गरेको थियो । मानविय क्रियाकलाप, जलवायु परिवर्तन लगायतका कारणले प्राकृतिक प्रकोपको जोखिम अझ बढ्दो छ । नेपालमा बाढीरपहिरो, हिमपहिरो तथा भूकम्पको जोखिममा छ ।
भूकम्पको हिसाबले विश्वको ११ औँ तथा बाढीरपहिरोलगायतका प्रकोपका हिसाबले ३० औँ स्थानमा छ । नेपालमा पहाडी भागमा पहिरो र भूक्षय तथा तराई र चुरे क्षेत्रमा बाढी, खडेरी, आगलागीको जोखिम छ । यसपाली कोरोना भाइरसको सङ्क्रमणले विश्वमा नै असर गरेको छ ।
विपद्ले मानविय क्षतिसँगै विपद्पछिको राहत, उद्दार, पुनःस्थापना र पुनर्निर्माणका काम खर्चिलो हुँदै आएको छ । प्राकृतिक प्रकोपसँग जुध्न नसकिने तर पूर्वतयारी तथा सतर्कता अपनाएर क्षतिलाई न्यूनीकरण गर्न सकिनेमा विज्ञले जोड दिदै आएका छन् ।