प्रतिनिधिसभा सदस्यसहित ४२ जनामा कोरोना संक्रमण



राजविराज, असोज २७ । राजविराज–७ निवासी ५८ वर्षीया प्रतिनिधि सभा सदस्य रेणुकुमारी यादवलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको छ ।गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणअनुसार पूर्व शिक्षामन्त्रीसमेत रहेकी यादवसहित उनकी २६ वर्षीया बुहारी र चालक राजविराज–७ का २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

सांसद यादवका छोरा प्रदेश सभा २ का सदस्य अभिषेक यादवलाई आइतबार कोरोना पुष्टि भएपछि परिवारका सदस्य र काम गर्ने कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको थियो। स्वास्थ्य कार्यालयले सोमबार सांसद यादवसहित सप्तरीका ४२ जना नयाँ संक्रमित थपिएको जनाएको छ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार पुनः भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका ४ जना कर्मचारीमा संक्रमित देखिएको छ। संक्रमित हुनेमा राजविराज नगरपालिका–६ का १७ जना, राजविराज नगरपालिका– ७ का १० जना, राजविराज नगरपालिका –९ का ५ जना, खडक नगरपालिका –७ का २ जना, बलान बिहुल गाउँपालिका–२ का ३ जना र बलान बिहुल गाउँपालिका–३ का १ जना रहेका छन्।

योसँगै सप्तरीमा १ हजार ४४३ जना संक्रमित पुगेको छ। जसमा ३ महिलासहित २१ जनाको मृत्यु भएको छ भने १ हजार १२७ जना निको भएको यादवले जानकारी दिए।

यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्