कोरोनाका कारण क्यानको साधारणसभा पुनः स्थगित
काठमाण्डौ, असोज २७ । नेपाल क्रिकेट संघ क्यानको बार्षिक साधारण सभा पुनः स्थगित भएको छ । यसअघि असोज २८ र २९ गतेका लागि तय गरिएको क्यानको साधारणसभा स्थगित भएको हो ।
क्यानले आउदो मङ्सिर १५ सम्म साधारण सभा सम्पन्न गर्ने योजना बनाएको छ । क्यानले चैत्र ६ गते बसेको कार्यसमितीको बैठकबाट असोजको २८ र २९ गते बार्षिक साधारण सभा गर्ने बताएको थियो । त्यो बेला सके सबै भेला भएर र नभएमा भर्चुअलमा गर्ने बताएको थियो ।
तर त्यो बैठकबाट फर्किए लगत्तै अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना पोजेटिभ भएको थियो । सचिव प्याकुरेल अहिलेपनि अस्पतालमा भर्ना भइरहेका छन । कोरोना संक्रमणकै कारण साधारणसभा स्थगित गर्नुपरेको बताइएको छ।