थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं असोज २७ । सुनसरी, चितवन र रुपन्देही गरी ४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको मृत्यु भएको अस्पताल प्रशासनका नारायण दाहालले जानकारी दिए । उनका अनुसार मृतकलाई स्वास्थ्यमा समस्या भएपछि आइतबार उपचारका लागि अस्पतालमा ल्याइएको थियो । ती पुरुषले केही वर्षदेखि मिर्गौलाको नियमित डाइलोसिस गराउँदै आएका थिए ।

यस्तै धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेशनमा बसेका करीब ७० वर्षीय उनको सोमबार बिहान घरमा नै मृत्यु भएको छ । उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका थिए । बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा भीड भएका कारण उनलाई घरमै राखिएको थियो ।

रुपन्देही बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको सोमबार बिहान ७:३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए । यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० सङ्क्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताए ।

यसैबीच भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित वेवारिसे महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनीको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो ।
यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनीमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो

प्रतिक्रिया दिनुहोस्