दिउँसै लालटिन बालेर पत्रकार महासंघको प्रदर्शन



काठमाडौं असोज २५ ।

विभिन्‍न बहानामा पत्रकारहरुलाई जागिरबाट निकाल्ने, समयमा तलब नदिने र बेतलबी बिदामा राखेर दुःख दिएको भन्दै सूचना तथा प्रशारण विभाग अगाडि प्रदर्शन गरिएको छ।

नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्‍न सञ्चारमाध्यमका पीडित पत्रकारहरुले लालटिन बालेर विभाग अगाडि प्रदर्शन गरेका हुन्। पत्रकारको हकहितका लागि सरकारले समेत आफ्नो दायित्व निर्वाह नगरेको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बताए।

सरकारलाई दबाब दिन विभाग अगाडि लालटिन बालेर प्रदर्शन गरिएको उनले बताए । लकडाउनपछि पत्रकारलाई जागिरबाट निकाल्ने, बेतलबी बिदामा राख्ने, अनेक किसिमका दुःख दिने क्रियाकलाप गरेको भन्दै महासंघले प्रदर्शन गरेको महासचिव विष्टले बताए ।

कोरोनालाई बहाना देखाएर विभिन्न सञ्चारमाध्यमहरुले पत्रकारहरुलाई जागिरबाट निकाल्ने र बेतलबी बिदामा राखेका छन्। जागिरबाट निकालिएका पत्रकारहरू अहिले आन्दोलित छन् । पत्रकार महासंघले उनीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्