‘चीनले नेपाली भूमी मिचेको’ कांग्रेस अध्ययन टोलीको निष्कर्ष
काठमाडौं असोज २५ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय टोलीले हुम्लामा चीनले भूमि मिचेको निष्कर्ष निकालेको छ ।
कर्णाली प्रदेशका प्रतिपक्षी नेता एवं हुम्लाबाट निर्वाचित प्रदेश सांसद जीवनबहादुर शाहीको नेतृत्वमा असोज १४ गते कांग्रेसका जनप्रतिनिधिको टोली स्थलगत अध्ययनमा गएको थियो । १० दिनको अध्ययनपछि शनिवार साँझ सदरमुकाम सिमिकोट आइपुगेको टोलीका नेता शाहीले निरीक्षणका क्रममा ठाउँ ठाउँमा चीनले भूमि मिचेको देखिएको बताए ।
कांग्रेसकी प्रतिनिधिसभा सदस्य रंगमती शाहीले पनि आफूहरुको निष्कर्ष भूमि मिचिएकै भएको बताए । टोलीमा रहेका नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङले चिनियाँले भवन बनाएको भूमि नेपालमै पर्ने बताए ।
नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीस्थित लाप्चा क्षेत्रमा चिनियाँ पक्षले भवन बनाएपछि दुई देशबीच सीमा विवाद देखिएको छ । ललुङजङमा चीनले ९ वटा भवन बनाएपछि जिल्लास्थित सिडिओसहित सुरक्षा टोलीले स्थलगत अवलोकन गरेर उक्त भूमि चीनकै भएको निष्कर्ष निकालेको थियो ।
चिनियाँ दूतावास र केन्द्र सरकारले पनि उक्त भूमि चीनकै भएको बताउँदै आएको छ । गाउँपालिका अध्यक्ष र नेकपा सांसदको टोलीले पनि उक्त भूमि चीनकै भएको निष्कर्ष निकाल्दै रक्षामन्त्री र परराष्ट्र मन्त्रीलाई ब्रिफिङ गरिसकेको छ । तर कांग्रेसले भने भूमि मिचिएको दाबी गरेको छ । भूमि मिचिएको निष्कर्षसहित आज स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दैछ ।