अनसनरत डा. केसीको पक्षमा माइतीघरमा प्रदर्शन



काठमाडौं असोज २४ ।

अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनशन बसेका केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासीन बनेको भन्दै प्रदर्शन भएको हो। बिहीबारबाट डा. केसी र सरकारी पक्षबीच वार्ता भइरहे पनि सफल हुन सकेको छैन। वार्तालाई असफल बनाएर सरकारले केसीको जीवन नै समाप्त पार्ने नियत देखिएको केसी समर्थकहरुको भनाइ छ।

प्रदर्शनमा सहभागी वार्ता टोलीका सदस्य अधिवक्ता ओम प्रकाश अर्यालले असोज २२ गते सरकारी पक्षसँग समझदारी भएपनि प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा रोकिएको बताए।

प्रधानमन्त्री र मन्त्रीको निर्देशनले वार्ता रोकिनुको कारण केसीको जीवनमा जुनसुकै घटना भए पनि आफुहरुलाई सरोकार नै छैन भन्ने नकारात्मक सोचाइ भएको उनले बताए। सरकार र डा. केसी पक्षले वार्ता टोली गठन गरेर बिहीबार र शुक्रबार वार्ता गरिएको थियो।

बिहीबार केही समझदारी भए पनि शुक्रबार राति भएको वार्तामा सरकारी पक्ष पछि हटेको डा केसी पक्षधरको भनाई रहेको छ। केसी पक्षले यसअघि नै विज्ञप्ती निकाल्दै सरकार समझदारीबाट पछि हटेको बताइसकेको छ।

प्रतिक्रिया दिनुहोस्