अस्पताल लैजाँदै गर्दा गर्भवतीको बाटोमै मृत्यु



बाजुरा असोज २३ ।

बाजुरामा एक गर्भवतीको सुत्केरी गराउन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।

बुढिनन्दा नगरपालिका ४ कुरुमा स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमा गर्भवतीको मृत्यु भएको हो । सुत्केरी हुन नसकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमै २३ वर्षीया अम्बकला रोकायाको बिहीबार राति मृत्यु भएको वडा अध्यक्ष राजन रोकायाले बताए। गाँउमा प्रसूति सेवा केन्द्र नभएपछि आफन्तले बोेकेर ५ घण्टा टाढा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अध्यक्ष रोकायाले बताए।

बिहीबार दिउँसो सुत्केरी व्यथा लागेकी अम्बकलालाई गाँउमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहाँ प्रसूति सेवा दिने तालिम प्राप्त स्वास्थ्यकर्मी नभएपछि आफन्तले बोकेर कोल्टी ल्याउँदै गर्दा उनको मृत्यु भएको आफन्तले बताए । कुरु गाँउमा प्रसूति केन्द्र स्थापना नहुँदा त्यहाँका महिलाहरुले दुस्ख पाइरहेका छन् । यो वर्ष मात्र २ जनाले कोल्टी ल्याउँदै गर्दा बाटोमा बच्चा जन्माएको वडा अध्यक्ष रोकायाले बताए ।

गाउँमै प्रसूति केन्द्र स्थापनाका लागि आफूले पहल गरेपनि कसैले सहयोग नगरेको वडाअध्यक्ष रोकायाको गुनासो छ । बाजुरामा बर्षेनि धेरै गर्भवती तथा सुत्केरी महिलाले उपचार अभावमा ज्यान गुमाउने गरेका छन् । गत वर्ष मात्र बाजुरामा ५ जना सुत्केरी महिलाले अकालमै ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्