लठ्याउने औषधि खुवाएर बसभित्रै बलात्कार गरेको आरोपमा थप १ पक्राउ



काठमाडौं असोज २३ । भक्तपुरको भक्तपुर नगरपालिका–८ कालाँचामा १७ वर्षीया किशोरीलाई बसभित्रै सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले आरोपी झापा भद्रपुरका दिपेश राईलाई पक्राउ गरिएको जानकारी दिए । उनलाई महानगरीय प्रहरी वृत्त जगाती र महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा भद्रपुरबाट पक्रेर भक्तपुरमा ल्याएको हो ।

असोज १७ मा ३ जना युवाले किशोरीलाई सामूहिक बलात्कार गरेका थिए । बलात्कृत किशोरीलाई प्रहरीले रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसबाट बेहोस अवस्थामा उद्धार गरेको थियो ।

बलात्कारमा संलग्न दुईजनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । यसअघि पक्राउ गरिएकामा सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सुर्य श्रेष्ठ छन् । दिपेश सो गाडीका सह–चालक हुन् । आरोपीहरुले किशोरीलाई रत्नपार्कबाट भक्तपुर लगेर बलात्कार गरेका थिए । लठ्याउने औषधी खुवाएर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस्