कोरोनाबाट सुनसरीका ३ र झापाका १ पुरुषको मृत्यु
सुनसरी असोज २३ । कोरोना संक्रमणबाट सुनसरीका ३ र झापाका १ पुरुषको मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ४ संक्रमितको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार इटहरी–६ का ६८ वर्षीय पुरुष र दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ । त्यस्तै दुहबीका संक्रमित असोज १२ गते भर्ना भएका थिए ।
इटहरीका पुरुषमा कुनै दीर्घरोग नदेखिएको तर दुहबीका पुरुष लामो समयदेखि मिर्गौला रोगले पीडित रहेको अस्पतालले जनाएको छ ।
यसै गरी धरान उपमहानगरपालिका–८ का ४६ वर्षीय पुरुष र झापाको दमक नगरपालिका–१ का ५२ वर्षीय संक्रमितको बिहीबार मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता श्रेष्ठले उनीहरूको मृत्यु भएको जानकारी सार्वजनिक गर्न प्राविधिक कारणले ढिलाइ भएको बताए ।