जाजरकोट जीप दुर्घटना अपडेट: मृतकको संख्या ७ पुग्यो, मृतकका आफन्तद्वारा चालकको घरमा आगजनी



जाजरकोट असोज २२ ।

जाजरकोटमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

जीप दुर्घटनामा बेपत्ता भएका अर्का एक जनाको शव भेटिएपछि मृत्यु हुनेको संख्या ७ पुगेको हो । यसअघि हिजो घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो । जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिका जान लागेको भे १ ज ९३५ नम्बरको जीप सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका ११ का वडा अध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृती बहादुर शाही, जुनीचाँदे गाउँपालिका ५ की मालिका बस्नेत, कृष्ण बहादुर शाही, खिम बहादुर शाही र छेडागाड नगरपालिका ५ का कर्ण बहादुर शाही हुन् । मृत्यु हुनेमा दुई जना स्वास्थ्यकर्मी पनि छन् ।

दुर्घटनामा बेपत्ता भएका जुनीचाँदे गाउँपालिका ११ का १७ वर्षीय लालबहादुर बुढाको शव भेटिएको हो । उनका बुवा नरबहादुर बुढा भने गम्भिर घाइते भएका थिए । उनको सुर्खेतको देउती अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।

जीप चालक गोरखबहादुर बस्नेत भने अहिलेसम्म पनि बेपत्ता छन् । उनी बेपत्ता रहेकाले फरार भनिएको छ । अहिलेसम्म उनको मृत्यु भएको कुनै प्रमाण भेटिएको छैन् । पीडितका आफन्तले उनको पसल र घरमा आगजनी गरिदिएका छन् ।

चालक बस्नेतको लापरवाहीले जीप दुर्घटना भएको भन्दै उनीहरुले घर र पसलमा आगजनी गरिदिएका हुन् । साथै सो भीर मापदण्ड विपरित भएको र दुर्घटना निम्त्याईरहने ठाउँ भएकाले समस्या समाधान नहुँदासम्म लास नबुझ्ने आफन्तले बताएका छन् । उनीहरुले अहिलेसम्म घटनास्थलबाट शव समेत उठाउन दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्