सडेको मासु बिक्री गर्ने पसल कारबाहीमा
काठमाडौं असोज २२
मैतीदेवीमा सञ्चालित चण्डीकालिका मासु पसलमा सडेको मासु बिक्री गर्न राखेको पाइएपछि काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले नष्ट गरेको छ ।
महानगरपालिकाले गरेको नियमित अनुगमनका क्रममा मासुपसलमा केही मात्रामा सडेको कुखुराको मासु बिक्री गर्न राखेको पाइएको थियो । उक्त मासु अनुगमनमा गएको टोलिले नष्ट पारेको हो । त्यस्तै मासुपसलमा म्याद गुज्रेको मसला समेत पाइएको छ ।
महानगरपालिकाका पशुविकास अधिकृत डम्बरबहादुर बमले मासुपसलमा अनुगमन गर्दा सडेको मासु फेला परेको बताउनुभयो । त्यस्तै पसलमा अस्तव्यस्त रुपमा मासु राखिएको, बधशाला फोहोर भएको पाइएकोले स्पष्ट जवाफसहित महानगरमा आउन भनिएका बमले बताए ।
महानगरपालिकाले मैतिदेवी क्षेत्रका अन्य खाद्य पसलहरुमा पनि अनुगमन गरेको थियो । त्यस क्रममा केही पसलहरु दर्ता नगरी सञ्चालन गरेको, ढक तराजु प्रमाणिकरण नगरी प्रयोग गरेको पाइएकोले सचेत गराइएको उनले बताए ।