नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्थामा कडाई



काठमाडौं असोज २२ ।

नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

बढी भीडभाड हुने क्षेत्रहरुमा प्रहरीहरूलाई सादा पोशाकमा खटाउन थालिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख श्याम ज्ञवालीले दशै तिहार तथा छठ पर्वमा घट्न सक्ने आपराधिक घटनालाई मध्यनजर गरी विशेष शान्ती सुरक्षा कार्यक्रम अन्तर्गत झण्डै तीन हजार भन्दा बढी प्रहरी परिचालन गरिएको जानकारी दिए ।

परिसर प्रमुख ज्ञवालीले विशेष शान्ती सुरक्षा अन्तर्गत सेफ्टीपिन अभियान पनि लागू गरिएको बताए । सेफ्टिपिन अभियान अन्तर्गत खटिएका प्रहरी कर्मचारीले सार्वजनिक स्थानमा महिलामाथि हुने यौनजन्य दुब्र्यवहारलाई नियन्त्रण गर्नुका साथै चोरी,ठगी तथा पाकेटमारी समेतलाई नियन्त्रण गर्ने प्रमुख ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा तालिमप्राप्त कुकुरबाट जाँच सुरु गरिएको छ । दसैंकै लागि उपत्यका छाड्ने क्रम पनि सुरु भएको छ । यस्तो समयमा यात्रुलाई सहजता प्रदान गर्न बसपार्क लगायत विभिन्न स्थानमा यात्रु सहायता कक्ष राखिएको काठमाडौ प्रहरी प्रमुख ज्ञवालीले जानकारी दिए ।

लकडाउन खुलेसंगै महिला तथा वालबालिका विरूद्ध हुने विभिन्न खाले यौन तथा लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागी महिला प्रहरी निरीक्षक सहितको मोबाइल भ्यान पनि २४ सै घण्टा उपत्यकामा परिचालन गरि समस्यामा रहेका व्यक्तिहरूलाई सेवा प्रवाह गरिने समेत ज्ञवालिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्