जाजरकोट जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो, १ जना बेपत्ता



जाजरकोट असोज २१ ।

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

१ जना खोलामा बगेर बेपत्ता भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा वडाध्यक्षदेखि स्वास्थ्यकर्मीसम्म रहेको प्रहरीले जनाएको छ। सदरमुकाम खलंगाबाट जुनीचाँदको परालेका लागि छुटेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे–१ औलखोलामा बुधबार दिउँसो दुर्घटना भएको हो।

मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–११ का वडाध्यक्ष अन्दाजी ५० वर्षीय अमरबहादुर शाही, महेन्द्र माध्यामिक विद्यालय कोर्ताङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अन्दाजी ६० वर्षीय कृतिबहादुर शाही, प्राथमिक स्वास्थ्य केन्द्रका अहेबद्वय अन्दाजी ३१ वर्षीय खेमराज शाही र २९ वर्षीय कृष्णबहादुर शाही रहेका जाजरकोटका प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, अन्दाजी ३५ वर्षीया मालिका बस्नेतको पनि दुर्घटनामा मृत्यु भएको छ। मृतकमध्ये एकजना पुरुषको सनाखत हुन बाँकी छ। जीप सडकबाट करीब २५० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । उनका अनुसार दुर्घटनामा परेका लालबहादुर बुढा बेपत्ता छन्।

दुर्घटनामा घाइते भएका नरबहादुर बुढालाई उपचारका लागि सुर्खेत रेफर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्