लक्षण सहितका संक्रमित बढेपछि ६ हजार आइसियु बेड थप्ने सरकारको तयारी



काठमाडौं असोज २० ।

उपत्यकासहित देशभर कोरोना भाइरस कोभिड १९ संक्रमण बढ्दै गएपछि सरकारले देशभर ६ हजार आइसियु बेड थप्ने तयारी गरेको छ।

पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक करिब दुई हजार हाराहारीमा कोरोनाका संक्रमित देखिन थालेका छन्। सरकारले पनि अझै यो संख्या बढ्ने र हालको स्वास्थ्य संरचनाले संक्रमितको उपचार सेवा नधान्ने अवस्था आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिनाभित्रै देशभर ६ हजार सेमी आइसियु बेड थप्न लागेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।

प्रवक्ता प्राडा गौतमका अनुसार मोनिटर र अक्सिजनसहितका सेमी आईसीयु वेड ७ बटै प्रदेशमा ५ सयका दर ३५०० र केन्द्रिय अस्पताल र प्रतिष्ठानका अस्पतालमा बाँकी २५०० वेड थप्ने तयारी गरेको हो । पछिल्लो समय संक्रमण देखिएका धेरैमा लक्षणसहित श्वासप्रश्वासमा समस्या आई अक्सिजन दिँनैपर्ने र आइसियुमा जाने संक्रमित बढेपछि अक्सिजन र मनिटरसहित जडान गरिएको सेमी आइसियुहरू निर्माणको तयारी गरिएको उनले बताए।

नेपालमा कुल संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ। हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ रहेको छ। उपत्यकासहित देशभर संक्रमित बढ्दै जाँदा सरकारमाथि पुन लकडाउनको दबाब बढ्न थालेको हो। चिकित्सकहरूले पुन लकडाउन गरी अहिलेको अवस्थालाई नियन्त्रणमा लिन सुझाव दिइसकेका छन्।

गत आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसमेत सहभागी रहेको मन्त्रालयको कोभिड १९ इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकमा सहभागी अधिकारीले संक्रमणले अवस्था भयावह भएको भन्दै तत्काल लकडाउनको निर्णय गर्न सुझाव दिएका छन्।

प्रधानमन्त्री निकट मानिएका कतिपय चिकित्सकहरूले तत्काल लकडाउन नगरे लक्षण भएका संक्रमितले बेड तथा आइसियु पाउनै मुस्किल हुन सक्ने भन्दै नियन्त्रणमा लिने उपाय तत्काल खोज्न आग्रह गरेका छन्। उनीहरूले तत्कालका लागि लकडाउन एउटा विकल्प हुनसक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्