राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन नुवाकोट प्रशासनको अनुरोध
नुवाकोट असोज २० । राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन जिल्ला प्रशासन कार्यालय नुवाकोटले अनुरोध गरेको छ ।
कार्यालयका प्रशासकीय अधिकृत धर्मराज भट्टले सोमबार सूचना जारी गर्दै वित्तीय कारोबार, लोक सेवाको फाराम भर्न, पासपोर्ट बनाउने लगायत कार्यका लागि सरकारले राष्ट्रिय परिचय नम्बर अनिवार्य गर्न लागेको जनाउँदै विवरण माग गरेका हुन् ।
नेपाली नागरिकता प्रमाणपत्र प्राप्त सबै व्यक्ति तथा नयाँ नागरिकता वा प्रतिलिपि लिन, राहदानी बनाउन वा अन्य सेवा लिन प्रशासनमा आउनेले राष्ट्रिय परिचय पत्र ईकाइमा सम्पर्क गरी विवरण दर्ता गर्न सकिने सूचनामा उल्लेख छ ।
विवरण दर्ता गराउँदा सक्कल नागरिकता, विवाह दर्ता प्रमाण पत्र वा पति पत्नीको नाता खुल्ने सरकारी कागज, बसाई सरि आएकाको हकमा बसाइँ सराइ प्रमाण पत्रको सक्कल प्रति समेत ल्याउन सूचित गरिएको छ ।