बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने प्रदेश सरकारको निर्णय



रुपन्देही, कपिलवस्तु र नवलपरासी सांस्कृतिक र पर्यटकीय राजधानी

रुपन्देही असोज २० । प्रदेश ५ सरकारले रूपन्देहीको बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने भएको छ ।

मन्त्रिपरिषद्को मंगलबार बिहान बसेको बैठक उक्त निर्णय गरेको सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए । बैठकले रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने निर्णय पनि गरेको छ ।

यस्तै कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रणसम्बन्धी अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय छ । यसका लागि वन क्षेत्रको ९ बिघा जग्गा उपलब्ध गराउने निर्णय भएको मन्त्री बरालले जानकारी दिए ।

रूपन्देहीमा रहेको प्रदेशको अस्थायी राजधानी स्थायी रूपमा दाङको देउखुरी लैजाने प्रस्तावले चिढिएका सत्तापक्षका प्रदेशसभा सदस्यलाई सान्त्वना दिन मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । यसअघि सोमबार बसेको नेकपा संसदीय दलको बैठकमा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले उक्त प्रस्ताव पेस गरेका थिए । चौधरीको प्रस्तावलाई संसदीय दलबाट निर्णय गराएर मन्त्रिपरिषद् लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्