नुवाकोटका शेर्पालाई १० लाख ठग्ने ४ जना काभ्रेबाट पक्राउ



काभ्रे असोज १९ । अमेरिकी डलर सस्तो मूल्यमा दिने भन्दै ठगी गर्ने ४ गिरोहलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ ।

साउन १२ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ कुटुमसाङका पेन्जोम शेर्पालाई काभ्रेपलाञ्चोकको पाँचखाल नपा–४ स्थित लामीडाँडामा बोलाएर १० लाख ठगी गरेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबीसेका श्रीखण्ड तामाङ, हर्क तामाङ, बुद्धिबहादुर तामाङ र गोविन्द तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । उनीहरुलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले शेर्पालाई गत असार २० गते अपरिचित व्यक्तिले फोन गरी अमेरिकी डलर १७ हजार भेट्टाएको र सस्तो मूल्यमा उपलब्ध गराउने भनी जानकारी गराएका थिए । “पैसा सटही गरेको दिन पनि अभियुक्तले रु १० लाख बराबरको मात्रै दिएको र बाँकी पछि दिने भनी रुमालले बेरेर नक्कली नोट दिएर फरार भएका रहेछन्”, प्रनाउ थापाले भने । उनका अनुसार गिरोहले शेर्पालाई ‘अहिले पोको नखोल्नु अरु कसैले वा प्रहरीले देख्यो भने हामी सबबैलाई अप्ठेरो पर्छ’ भन्दै पैसा लिई फरार रहेका थिए ।

गिरोहले पैसा लिएर फरार भएलगत्तै शेर्पाले डलर भनिएको पोको खोली हेर्दा डलरको आकारमा काटिएको कागजको बीटा मात्रै फेला परेपछि प्रहरीमा जाहेरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्