गृहमन्त्री थापा भन्छन्, ‘महिला हिंसाका घटना बढ्नु चिन्ताको विषय हो’
काठमाडौं असोज १९ । गृहमन्त्री रामबहादुर थापाले महिला तथा दलितमाथि हुने उत्पीडनका घटना न्यूनीकरण गर्न सरकार संवेदनशील रहेको बताएका छन् ।
राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा महिला सेलजस्तै प्रहरीमा दलित डेक्स बनाउने सोच अघि सारिएको जानकारी दिए । उनले अघिल्ला वर्षको तुलनामा महिलामाथि हुने बलात्कार र घरेलु हिंसाका घटना कोभिड–१९ को लकडाउनपछि बढेको छ, यो चिन्ताको विषय भएको बताए ।
कोरोनाका कारण देखिएको असहज परिस्थितिमा कैदी व्यवस्थापनमा देखिएको चाप घटाउन, जोखिममा अग्रमोर्चामा काम गर्ने चिकित्सक र सुरक्षा फौजको मनोबल बढाउन प्रोत्साहनको व्यवस्था गर्न तथा हिंसामा परेका महिलाको सहजरुपमा प्रहरीले उजुरी लिने व्यवस्था गर्न सांसदहरुले गृहमन्त्रीसँग आग्रह गरेका थिए ।
अर्को प्रसंगमा गृहमन्त्री थापाले विपद् नआउने उपाय अवलम्बन गर्न तथा विपद्पछिका उद्धारका कामलाई प्रभावकारी तुल्याउन सरकारले हरसम्भव प्रयत्न गरिरहेको बताए । उनले विकाससम्बन्धी गतल नीतिले विपद्का घटना निम्त्याएको उल्लेख गरे ।