बाँकेको कोहलपुरमा कोरोना संक्रमणबाट सुत्केरीको मृत्यु
बाँके असोज १८ । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा सुत्केरीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ निवासी २९ वर्षीया सुत्केरीको आइतबार बिहान उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार सेती अस्पताल धनगढीमा जुम्ल्याहा सन्तान जन्मिएपछि उच्च रक्तश्राव भएका कारण पाठेघरको शल्यक्रिया गर्नाका साथै आठ पिन्ट रगत र चार पिन्ट प्लेटलेट दिँदा पनि स्वास्थ्यमा सुधार नआएपछि शिक्षण अस्पताल कोहलपुरमा प्रेषण गरिएको थियो ।
सेती अस्पतालको प्रयोगशालामै यही असोज १४ गते गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको प्रेषणपत्रमा उल्लेख छ । यही असोज १५ गते अपराह्न ४:०० बजे शिक्षण अस्पतालमा भर्ना हुँदा महिलाको अवस्था जटिल र बेहोस रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको समन्वयमा मृतकको शव व्यवस्थापनको तयारी भइरहेको छ ।