सर्वोच्चका न्यायाधीश र कर्मचारीहरुमा कोरोना संक्रमण, सबै इजलास बन्द



काठमाडौं असोज १८ । सर्वोच्च अदालतका न्यायाधीश, अधिकृत र कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

सर्वोच्च अदालत प्रशासनले आइतबार सूचना निकालेर अदालतका न्यायाधीश र अधिकृत र कर्मचारीमा कोरोना देखिएको र उनीहरु आइसोलेसनमा रहेको जानकारी दिएको हो । अदालतमा कति जनालाई संक्रमण देखियो भन्ने जानकारी भने दिएको छैन ।

सर्वोच्चको सूचनामा भनिएको छ, ‘यस अदालतका माननीय न्यायाधीशज्यू लगायत केही अधिकृत र कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनुभएको र संक्रमित एवं त्यसबाट प्रभावित माननीय न्यायाधीशज्यूहरु तथा कर्मचारीहरु होम क्‍वारेन्टिन/सेल्फ आइसोलेसनमा रहनु भएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिएको छ ।’

कोरोना देखिएपछि सर्वोच्चका सबै इजलास बन्द गरिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताए ।

एक जना न्यायाधीशसहित परिवार नै संक्रमित छन् र दुई जना न्यायाधीशलाई लक्षण देखिएको र अन्य कर्मचारी र सुरक्षाकर्मीलाई पनि संक्रमण देखिएको सर्वोच्च स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्