बुटवलमा निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन :‘नेताहरू होसियार, अर्को चुनावमा भोट चाहिन्छ कि चाहिँदैन’



बुटवल । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्दै बुटवलमा आइतबार बिहानैदेखि प्रदर्शन थालिएको छ ।

प्रदेश ५ को स्थायी राजधानी दाङमा बनाउने प्रस्तावको विरोधमा उनीहरुले आन्दोलन गरिरहेका छन् । संघर्ष समितिको अगुवाइमा रुपन्देहीका व्यावसायिक संघसंस्थाले जुलुस निकालेका प्रहरीले जनाएको छ । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको जुलुस ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो । र्‍याली सुरु भएपछि बुटवलमा सयौं सुरक्षाकर्मी परिचालन गरिएका थिए ।

प्रदर्शनकारी ट्राफिकचोकमा पुगेपछि केही व्यक्तिले पुष्पलाल पार्क नजिक टायर बालेका थिए । राजधानी सार्ने निर्णयको विरोधमा तिलोत्तमा, सिद्धार्थ नगर, सैनामैना, देवदहमा पनि प्रदर्शन भइरहेका छन् ।

शुक्रबार प्रदेशसभामा राजधानी सार्ने प्रस्ताव दर्ता भएपछि बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, व्यापार संगठन, होटल तथा रेस्टुरेन्ट, यातायात, मजदुरलगायतका आधा दर्जनभन्दा बढी संघसंस्थाको शनिबार बसेको बैठकले राजधानी कायम गर्न संघर्ष समिति बनाउनुका साथै आइतबार बिहान प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

प्रदर्शनका सहभागीले रुपन्देहीलाई राजधानी कायम गर्न माख राखी ‘नेताहरू होसियार, अर्को चुनावमा भोट चाहिन्छ कि चाहिँदैन’ जस्ता नारा लगाएका थिए ।

उक्त प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्ष कांग्रेसले आइतबार बुटवल बन्दको आह्वान गरेको छ । बन्दका कारण मुख्य सडकमा अत्यावश्यक गाडी मात्रै फाट्टफुट्ट चलेका छन् । पसल, बजार बन्द छन् ।

शनिबार राति सूचना जारी गर्दै रूपन्देही जिल्ला प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्