जेनेरेटर र ब्याट्रीको आयात बढ्न थाल्यो



काठमाडौं,असोज १८ । नेपाल विद्युत् प्राधिकरणले बिजुली बढी भएर खेर जाने सम्भावना बढेको बताइरहएको छ तर विकल्पमा प्रयोग हुने जेनेरेटर र ब्याट्रीको आयात भने ह्वात्तै बढ्न थालेको छ ।

पछिल्लो ३ महीनाको तथ्यांक हेर्दा विद्युतको वैकल्पिक स्रोतका रूपमा प्रयोग हुने जेनेरेटर र ब्याट्रीको आयात निरन्तर बढ्दै गइरहेको देखिन्छ । प्राधिकरणले २०७५ वैशाखदेखि देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरेको थियो । त्यसपछिको पहिलो १० महीनामा जेनेरेटर र इन्भर्टरको आयात उल्लेख्य नघटे पनि ब्याट्रीको आयात भने क्रमशः घट्दै गएको थियो ।

लोडशेडिङ अन्त्य भएकै वर्षको माघपछि इन्भर्टरको आयात पनि क्रमशः घट्दै गएर गत आर्थिक वर्षको शुरूदेखि नै शून्यमा झरेको थियो भने जेनेरेटरको आयात पनि घट्दै गएको थियो ।

पछिल्लो ३ महीनाको तथ्यांक हेर्दा जेनेरेटर र ब्याट्रीको आयात क्रमशः बढ्न थालेको देखिन्छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार इन्भर्टरको आयात नभए पनि जेनेरेटर र ब्याट्रीको आयात प्रत्येक महीना करीब दोब्बरले बढ्दै गएको देखिन्छ ।

अघिल्लो आर्थिक वर्षको अन्तिम अर्थात् असार महीनामा ६७५ थान जेनेरेटर र ७ हजार थान ब्याट्री आयात भएकोमा साउनमा ब्याट्री र जेनेरेटरको आयात असारको भन्दा दोब्बरले बढेको छ । यस्तै भदौ महीनामा ब्याट्री र जेनेरेटरको आयात साउन महीनाको भन्दा दोब्बरले बढेको देखिएको छ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्