प्रदेश राजधानी दाङ सार्ने निर्णयको पक्षमा मतदान गर्न नेकपाको ह्विप जारी



बुटवल असोज १७ ।

प्रदेश ५ को स्थायी राजधानी र नामबारे सदनमा पेश गरेको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले ह्वीप लगाउने निर्णय गरेको छ।

बिहान ८ बजेदेखि करीब २ बजेसम्म मुख्यमन्त्री निवास बुटवलमा दिवाभोजसहित बसेको बैठकले प्रस्ताव पास गराउनका लागि ह्वीप लगाउने निर्णय गरेको नेकपा सचेतक भूमिश्वर ढकालले जानकारी दिए। बैठकमा रुपन्देही र पाल्पाका सांसदहरुले रुपन्देहीबाट राजधानी सार्न नहुने धारणा राखेका छन् । बैठकमा कपिलवस्तुका सांसदहरुले भने कपिलवस्तुलाई राजधानी बनाउनुपर्ने धारणा राखेका थिए।

रुपन्देही, नवलपरासी, पाल्पा र कपिलवस्तुका सांसदले दाङमा राजधानी प्रस्ताव गर्नु गलत भएको बताए । रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, कमला विश्वकर्मा, तुल्सी चौधरी, विमला पन्थी, दीपा विक, कृष्ण न्यौपाने, थानकुमारी थापा, दधिराम न्यौपानेलगायतका सांसदले असहमति जनाउँदै आफ्ना भनाइ राखेका थिए ।

सांसदहरुले आफ्ना धारणा राखेपछि दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेलले पार्टी निर्णय विपरीत नजान निर्देशन दिएका छन् । उनले पार्टीले सदनमा पेश गरेको प्रस्तावलाई पास गराउनका लागि सांसदहरुलाई आग्रह गरे ।

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेश गरेको छ। प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले यस्तो प्रस्ताव पेश गरेका हुन् । प्रदेश सभामा पेश गरेको प्रस्तावमाथि यही असोज १९ गतेदेखि छलफल शुरु हुने छ।

प्रतिक्रिया दिनुहोस्