कोरोना भाइरस क्युस्यु राहत कोषबाट फुकुओकामा नेपालीलाई स्वास्थ्यलाभ सामग्री वितरण
जापान असोज १७ । कोरोना भाइरस क्युस्यु राहत कोष (हाम्रो नेपाल हामी नेपाली अभियान, एनआरएनए क्युस्यु, फुकुओका नेपाल सोसाइटी, नेपाल जापान फ्रेण्डशीप लायन्स क्लब र जनजाती महासंघ क्युस्यु लगायत) ले जापानको फुकुओकामा स्वास्थ्यलाभ सामग्री वितरण गरेको गरेको छ ।
कोरोना भाइरस पोजिटिभ भई उपचारपश्चात् घर फर्किएकाहरु १० जना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सेप्टेम्बर ३० तारिखमा आ-आफ्नै निवास स्वास्थ्य लाभ सामाग्रीहरु हस्तान्तरण गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।
स्वास्थ्यलाभ सामग्री हस्तान्तरण कार्यक्रममा राहत कोषका संयोजक तथा ‘हाम्रो नेपाल हामी नेपाली’का प्रमुख संयोजक धर्म अधिकारी, राहत कोष कोषका सदस्यहरू एनआरएनए क्युस्युका संयोजक देवराज उप्रेती, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबका अध्यक्ष सन्तोष थापा, मगर समाज क्युस्युका अध्यक्ष अर्जुन पुन, ‘हाम्रो नेपाल हामी नेपाली’का अभियन्ता जनार्दन प्याकुरेल, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबका कोषाध्यक्ष प्रकाश लामिछाने, एनआरएनए क्युस्यु सहकोषाध्यक्ष सुनिल श्रेष्ठ र राहत कोष तथा एनआरएनए क्युस्युका सचिव अर्जुन थापाको सहभागिता रहेको थियो ।
कोरोना भाइरस राहत कोष क्युस्युले खाद्य सामग्रीहरु उपलब्ध गराउने फुकुओका फुड बैंकसहित सम्पूर्ण सहयोगी महानुभावहरुप्रति सहयोगी भावनाको उच्च कदर गर्दै धन्यवाद दिएको छ । आउँदा दिनहरूमा पनि सबै एकताबद्ध भई क्युस्युमा सञ्चालित कार्यक्रमलाई सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै राहत कोष क्युस्युले महामारीको कठिन अवस्थामा अति अप्ठ्यारोमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई साथ सहयोग दिनु सबैको कर्तव्य भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।