नेपालमै उत्पादित कोरोनाको औषधिको क्लिनिकल ट्रायल हुने



काठमाडौं असोज १६ ।

कोरोना भाइरसको उपचारमा सहयोग पुग्ने दाबी गरिएको नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ ।

नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले जनाएको छ । कोभिडसँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड–१९ को लागि पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागिएको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए।

औषधि उत्पादन गरेको कम्पनीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेपछि क्लिनिकल ट्रायल गरी अध्ययन गर्न परिषद्लाई मन्त्रालयले स्वीकृति दिएको उनले जानकारी दिए । यस्तै नेपालमै उत्पादित आयुर्वेदिक औषधिको समेत क्लिनिकल ट्रायल हुने परिषदका सदस्य सचिव ज्ञवालीले बताए । प्रदेश नं ५ र प्रदेश नं २ बाट आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल सुरु गर्न लागिएको उनले जानकारी दिए ।

उनका अनुसार जेठी मधु ,एस्टी मधु, र तीन कटु ,पिप्ला, मरिच र सुठोको धुलो मिसिएको औषधिको क्लिनिकल ट्रायल गर्न लागिएको हो । यो औषधिको परीक्षण सफल भए कोरोना जस्तै भाइरसजन्य रोगका लागि औषधि बनाउने नेपाल पहिलो मुलुक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्