नेपालमा ५ सय मेगावाटको विद्युत् आयोजना बनाउन अस्ट्रेलियन कम्पनी इच्छुक



काठमाडौं असोज १६ ।

अस्ट्रेलियाको एक कम्पनीले नेपालमा पाँच सय मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा जनाएको छ ।

अस्ट्रेलियाको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा पाँच सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपतसमेत आफैँ गर्ने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा पेस गरेको हो ।

त्यसबारे ऊर्जा मन्त्रालय र कम्पनीका प्रतिनिधिबीच भर्चुअल बैठकसमेत भएको छ । कार्यकाल सकाएर स्वदेश फर्कनुअघि नेपालका लागि अस्ट्रेलियाली राजदूत पिटर बडले शुक्रबार मन्त्रालयमा गरेको बिदाइ भेटमा ऊर्जामन्त्री वर्षमान पुनले प्रस्तावलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएको बताए ।अस्ट्रेलियाली कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकोमा स्वागत गर्दै मन्त्री पुनले त्यसका लागि नेपाल सरकारका तर्फबाट सहजीकरण गरिने स्पष्ट पारे ।

कम्पनीका अध्यक्ष एन्ड्रियु फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली आउँदो अक्टोबर १२ मा नेपाल आउन लागेको जानकारी प्राप्त भएको भन्दै मन्त्री पुनले टोलीसँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानुनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा कम्पनीलाई जानकारी दिइने उल्लेख गरे ।

तीन दिने नेपाल बसाइका क्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जामन्त्री पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग भेट्ने तालिका छ । फोर्टेस्क्यू मेटल ग्रुप अस्ट्रेलियाको १० ठूला प्रसिद्ध कम्पनीमध्ये एक हो ।

मन्त्री पुनले अस्ट्रेलिया नेपालको असल र महत्त्वपूर्ण मित्र भएको चर्चा गर्दै नेपालको समग्र तथा जलविद्युत् क्षेत्रको विकासमा पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आउँदा दिनमा समेत सहयोग रहिरहने विश्वास व्यक्तगरे । मन्त्री पुनले राजदूत बडको कार्यकाल कुशलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै आउँदा दिनमा सम्हाल्ने जिम्मेवारीको सफलता कामना गरे ।

प्रतिक्रिया दिनुहोस्